सरकारकै कारण प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढ्न सकेनः हितराज पाण्डे


काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै कारण प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढ्न नसकेको बताएका छन् । आज (बुधबार) विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारकै ढिलाइकै कारण विधेयक अगाडि बढ्न नसकेको बताएका हुन् । ‘सरकारकै कारण विधेयक छिटो–छिटो गएको छैन । यो विषयवस्तुलाई सरकारले गम्भीरताको साथ लिओस् । माननीय सभापतिज्यूलाई पनि भन्न चाहन्छु– हाम्रो सभापतिज्यूले पनि चाहे त्यो अख्तियारको कुरा होस्, चाहे निजामतीको कुरा होस्, सभापतिको तर्फबाट, नेतृत्वको तर्फबाट पहल कदमी पुगेको छैन,’– उनले भने ।

उनले प्रहरी विधेयक र सशस्त्र प्रहरी विधेयक एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने आवश्यकता रहेकोमा त्यसो भएको बताए । उनले अनुसन्धानसँग सम्बन्धित विषयवस्तुलाई पनि एकै ठाउँमा राखेर हेरिनुपर्ने बताए । प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नगर प्रहरीलाई पनि गाइड गर्नेगरी विषयवस्तु आउनुपर्ने बताए ।

‘यो विधेयकले यहाँको मात्रै कुरा गरेर सुख पाउँदैन । यो विधेयक संघको हो, त्यसकारण यसले प्रदेशको पनि हेर्नुपर्छ, स्थानीय तहको पनि हेर्नुपर्छ,’– उनले भने ।