काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि अध्यक्ष पुष्पकमल दाहालको आलोचना बढिरहेको छ । भिजिट भिसा प्रकरणमा सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद्मा विरोधमा उत्रिएको माओवादी पछि गृहमन्त्रीको राजीनामाबाट ब्याक भएर छानबिन समितिमा आईपुगेको थियो ।
सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि माओवादी नेतृत्वको आलोचना भैरहेको छ । आफ्नै दलका नेताहरुले समेत २ बुँदे सहमतिलाई उधारो सहमति भनेर सार्वजनिक रुपमै आलोचना गरेका थिए । तर, सरकारले यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत भिजिट भिसा र अध्यागमनमा भएको बेथितिको छानबिनको लागि पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ ।
सो समितिको टिओआर र प्रतिवेदन बुझाउने समायावधिसमेत संसद्मा गृहमन्त्री रमेश लेखकले स्पष्ट पारिसकेका छन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुमधुर बनाएका छन् । गत बैशाखमा नै कांग्रेस र एमाले नेतृत्वको वर्तमान सरकार ढल्ने दाबी गरेका दाहाल पछिल्लो समय भने चुपचाप बसेका छन् ।
उनले सार्वजनिक रुपमा सरकार ढल्ने विषयमा बोल्न छोडेका छन् । भिजिट भिसा प्रकरणमा नै माओवादी, रास्वपालगायतका दलहरु आन्दोलित हुँदा दाहालले देउवासँग बुढानिलकण्ठमा पुगेर भेटेका थिए । त्यही भेटपछि सत्तापक्ष दुई बुँदे सहमति गर्न राजी भएको हो । यसप्रकरणमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि छानबिन समिति नबन्ने र गृहमन्त्री लेखकको पनि राजीनामा नआउने अडानमा थिए ।
तर, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सघन छलफलमा बस्न थालेको र रास्वपाका नेताहरुसमेत कांग्रेस नेतृत्वसँग छलफलमा बसेपछि एमाले नेतृत्व झस्किएको हो । यो बीचमा कांग्रेस छोडेपछि पहिलोपटक रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेस सभापति देउवासँग भेट गरेका छन् । यसलाई पनि एमाले नेतृत्वले अर्थपूर्ण रुपमा औंल्याएको छ । वाग्लेले त अहिलेको सरकार ढाल्न लागिपर्ने र आवश्यक परे नयाँ सरकार बनाउन बाहिरबाट सहयोग गर्ने भनेर मिडिया अन्तर्वार्तामा बोलेको भिडिओको अंशसमेत सार्वजनिक भएको छ ।
प्रचण्डले भने आफूनिकटका नेताहरुसँग कांग्रेस–एमाले सहकार्य अब लामो नजाने दाबी गर्ने गरेका छन् । दाहालले एमालेसँगको सहकार्यबाट देउवा वाक्क भएको र छिट्टै सहकार्य तोड्ने कुरा आफूनिकटका नेताहरुसँग सुनाउने गरेका छन् । माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलेपछि देउवा र दाहालबीच टेलिफोनमा सम्वाद भएको थियो । पछि दुई नेताबीच भेटवार्ता नै भएको छ । दाहालले बजेट पारित भएपछि राजनीतिक कोर्स परिवर्तन हुने विश्वास व्यक्त गर्ने गरेका छन् । उनले गठबन्धन ढल्ने निश्चित् भएपनि देउवाले उपयुक्त समय हेरेको आफूनिकटका नेताहरुलाई सुनाउने गरेका छन् ।file photo




प्रतिक्रिया