समीकरण बदलियो भने पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल एक हप्तामै निर्दोष सावित हुन्छन्ः राजनीतिक विश्लेषक केसी


काठमाडौं, १२ असार । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेकपा (एमाले) फुटाएको दिनदेखि नै माधव कुमार नेपालको राजनीति ओरालो यात्रामा गएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोध साँधेर बसेको अवस्था रहेको र नेपालका ओरालो यात्रा निरन्तर जारी रहेको उनले बाए ।

साथै, पतञ्जली योग पीठको जग्गा प्रकरणमा पनि माधव नेपाललाई अदालतले अल्झाइदिएको उनले बताए । यसलाई पूरै प्रतिशोध नभने पनि यो घटना प्रतिशोधभन्दा कम नरहेको उनको भनाइ छ । विश्लेषक डा.केसीले सत्तासमीकरण बदलिएको खण्डमा माधव नेपाल पतञ्जली जग्गा प्रकरणमा सात दिनभित्रमै चोखिने उनको भनाइ छ ।

‘उनलाई अल्झाइदियो । अब यो कहिले फुक्छ त भन्दाखेरी समीकरण बदलियो भनेदेखि एकै हप्तामा अदालतले फैसला गर्दिहाल्छ र निर्दोष भन्दिन्छ । जहाँ अफ्ताब आलम निर्दोष भए,’– उनले भने ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ । हिजो (बुधबार) विशेष अदालतमा भएको थुनछेक बहसमा अध्यक्ष नेपाललाई ३५ लाख धरौटी माग भएको थियो । अध्यक्ष नेपाल धरौटी बुझाएर हिजो नै रिहा भइसकेका छन् ।