काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका पूर्व अध्यक्ष सुवोधराज सेर्पालीले दुई तिहाई नजिकको वर्तमान सरकार पूर्ण रुपमा निदाएको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा सरकारले जनताको चित्कार नसुनेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त भनिएका गितेन्द्र बाबु राईलाई वर्तमान सरकारले लुकाएको हुन सक्ने उनको आशंका छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सम्बोधन गर्दै उनले जिबी राई कहाँ छन् ? भन्दै प्रश्न गरेका छन् । नागरिकले गाँस काटेर सहकारीमा राखेको बचत तुरुन्त फिर्ता हुनुपर्ने उनको माग छ ।
‘सहकारी बचतकर्ताको रकम कहिले फिर्ता गर्ने ? पिडीतलाई न्याय कसले दिने ? मुख्य अभियुक्त भनिएका जिब िराईलाई कसले लुकाएको छ ? उनी कहाँ छन् ? लौन गगन दाइ संसदमा घोक्रो सुकाएर आजै भोलि नै जिबी निकाल्छौं भन्ने सहकारीवाला काण्डको जानकारमध्ये एक तपाइँ हो । अरु थाहा छैन जिबि राई चाहियो । जनताले आफ्नो गाँस काटेर बचत गरेका नागरिकहरुको रकम तुरुन्तै फिर्ता हुनुपर्यो । दुई ठूला दल मिलेर बनेको सरकार पूर्णरूपमा निदाएर बसेको छ । यो पनि होकि यो सरकार ब्युझनेवाला पनि छैन,’– उनले भनेका छन् ।
साथै, उनले न्यायलयसमेत सरकारको प्रभावमा परेको आशंका व्यक्त गरेका छन् । अहिले पहुँचवालाको इसारामा फैसला भइरहेको उनको आरोप छ । उनले भनेका छन्, ‘तराजु बोकेको फोटो न्यायमुर्तिका गतिविधिबाट पुरै लज्जित छ । एक अर्थमा पहुँचवालाको इसारामा फैसला आइरहेको आभास आमलाई भइरहेको छ । यसो भनौं न्याय मरेको जस्तै छ ।’
नेता सेर्पालीले शीर्ष राजनितीक नेतृत्वहरूमा देखिएको चरम व्यक्तिवाद, अन्यौलता र अस्थिर मानसिकता तोडेर युवा पुस्ताले आशा गरेको सकारात्मक परिणाम निकाल्न इमानदारीताका साथ राष्ट्र हितमा काम गर्न आग्रह गरेका छन् । File Photo/RN




प्रतिक्रिया