मैले प्रकाशमानलाई गाली गरेको होइन, अर्ती दिएकोः कान्छाराम तामाङ


काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई गाली नगरेको बताएका छन् । उनले प्रकाशमानलाई गाली नभएर अर्ती दिएको बताएका हुन् । उनले गणेशमानको छोरा हुँदैमा प्रकाशमानलाई जे पायो त्यही गर्ने छुट नरहेको बताए । प्रकाशमानले जिल्ला–जिल्लामा पठाउनुपर्ने बजेट काठमाडौं र रुपन्देहीमा मात्रै हालेको उनले बताए ।

‘प्रकाशमानजीले सबैभन्दा नराम्रो कामहरु जिल्ला–जिल्लामा बजेट नदिएर आफ्नो जिल्लामा धेरै लानुभयो । मैले रामेछापको लागिमात्रै मागेको होइन, नेपाली कांग्रेसको लिड गरेर सरकारमा गएको मान्छे । मैले मेरो रामेछापको लागि मात्रै भनेको होइन । उहाँले ७७ वटै जिल्लामा बजेट दिनुपर्थ्यो । ६ अर्ब ५० करोड त रुपन्देहीमा मात्रै लगेको छ रे पैसा सहकारी विकासबाट । प्रकाशमान र विष्णु पौडेलजीले मित लगाएर साटेको हो र ?’ प्रश्न गर्दै उनले भने ।