भिजिट भिसा प्रकरणमा छानबिन समिति बनिसक्दापनि रास्वपाले सदन अवरोध गरेकोमा एमालेको आलोचना


काठमाडौं, १२ असार । नेकपा (एमाले) भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउँदापनि रास्वपाले संसद् अवरोध गरेकोमा आलोचना गरेको छ । पार्टीको ५३औं सचिवालय बैठकमार्फत एमालेले रास्वपाको उक्त कदमको विरोध गरेको हो ।

भिजिट भिसाको दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसदभित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानविन गर्न सरकारले ‘उच्चस्तरीय अध्ययन एवं छानविन समिति’ बनाउनु सकारात्मक भएको एमालेको निश्कर्ष छ । तर, सरकारको यस प्रतिबद्धताका बाबजुद संसदमा केही प्रतिपक्षी दलबाट निरन्तर अवरोध, नाराबाजी र बहिस्कार भइरहनु अनुचित भएको एमालेको टिप्पणी छ ।

एमालेले बैठकले लिएको निर्णयबारे भनेको छ,‘यो बैठक अनावश्यक हठ, विरोध र असंसदीय व्यवहार प्रदर्शन नगर्न र संसदको मर्यादा एवं गरिमालाई कायम राख्न सम्बन्धित दल र सांसदहरूको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

सचिवालय बैठकमा इरान र इजरायलबीच चलेको दुई साता लामो युद्धको विषयमा छलफल गरेको छ । बैठकमा इरान र इजरायलबीच चलेको दुईसाता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको निश्कर्ष निकालिएको छ ।

इरान र इजरायल द्वन्द्वबारे एमालेले भनेको छ,‘यो बैठक युद्धमा सङ्लग्न इरान र इजरायल दुवैलाई युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, युद्धविरामलाई स्थायी रूपमा युद्धको अन्त्यमा रूपान्तरित गर्न आह्वान गर्दछ । शक्ति राष्ट्रहरूलाई यस्ता द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न ध्यानाकर्षण गर्दछ ।’

साथै, बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत पाँचहजारभन्दा बढी नेपाली नागरिकको जीवन र पेसागत सुरक्षामा समेत जोखिम पैदा गरेको एमालेको निष्कर्ष छ । एमाले बैठकले भनेको छ,‘यो बैठक खाडी क्षेत्र र इजरायलमा कार्यरत नेपालीहरूको जीवन र पेसागत सुरक्षाका लागि आवश्यक समन्वय र प्रभावकारी कूटनीतिक पहलकदमी गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।’