काठमाडौं, १२ असार । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले ‘श्रम संसार एप’ को शुभारम्भ गरेका छन् । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराको विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालन ल्याइएको हो ।
एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई सहज हुने बताइएको छ ।
परराष्ट्र मन्त्री डा.राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताईन् ।
श्रममन्त्री शरदसिंह भण्डारीले बिहीबार सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठुलो राहात प्रदान गर्ने बताए ।




प्रतिक्रिया