काठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले लोकतन्त्रवादी शक्तिहरुको कार्यशैली हिजोका राजा र राणाको जस्तो रहेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्र आएपछि जनताको छोराछोरी स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्वमा पुगे पनि उनीहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन् । जनतामा अहिले चरम निराशको कारण पनि उनीहरुको अपेक्षा पूरा नभएर आएको उनले बताए ।
‘यहाँ खाली कसरी कमाउने, आफू कसरी बन्ने भन्ने सोचले बिग्रियो । हिजो राणाहरुले पनि आफू कसरी बन्ने भन्नेमै गए । राजाहरु पनि आफू कसरी बन्ने भन्नेमै गए । अहिलेका लोकतन्त्रवादी शक्तिहरु जनताले विश्वास गरेका थिए । जनताको छोराछोरी स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म नेतृत्व गरिराखेका छन् । हाम्रो सुख दुःख बुझेका छन् । अब केही गर्छन् कि भन्ने जनताको तीब्र अपेक्षा थियो । त्यो पुरा हुन सकेन । जनतामा निराशा हुनुको कारण नै त्यही हो,’– उनल भने ।
साथै, उनले अहिलेको बजेटले नै यो सरकारको असफलता पुष्टि हुने उनले बताए । बाँडेर खाने, कार्यकर्ता पोस्ने र सीमित मान्छेको स्वार्थ पूर्ति गर्ने हिसाबले बजेट ल्याइएको उनको आरोप छ । उनले बजेटको गन्तव्य र दुष्टिकोण नै नरहेको दाबी गरे ।
नेता शाहीले नेतृत्वले साधन, स्रोतमा लगानी गर्ने काम नगरेको बताए । ‘साधन स्रोतमा आँखै छैन । जनताले तिरेको कर कसरी हसुर्ने भन्नेमात्रै दिमागमा छ । यही पैसा कसरी आफ्नो ठाउँमा ल्याउने र आफू अनुकूल बनाउने भन्ने कुराको तनावमा शासकहरु छन् । कसरी देश बन्छ त ? देश बन्ने त सम्भावना नै मैले देख्दिनँ,’– उनले भने ।




प्रतिक्रिया