नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाइनुपर्छः पूर्व डीआईजी मल्ल (भिडिओसहित)


काठमाडौं, १३ असार । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले प्रहरी सेवामा ३० वर्षे सेवा अवधि हटाइनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ३० वर्षे सेवा अवधिका कारण प्रहरीको करिअर डेभलपमेन्ट हुन नसकेको बताएका हुन् । उनले प्रहरी ऐनमा सरुवा बढुवालगायतका विविध विषयमा सुधारको आवश्यक रहेको बताए ।

‘राज्य व्यवस्था समितिसँग पनि मेरो कुरा भएको थियो । छलफलमा बोलाएका थिए । ३० वर्षे अवधि हटाउनु पर्छ । त्यसका धेरै असरहरु छन् । प्रहरीको करिअर डेभलपमेन्ट त्यसैले विगारेको छ । सरुवा बढुवालगातका जुन कुराहरु लगायतका धेरै कुराहरु सुधार गर्नुपर्ने छ,’– उनले भने ।

पूर्व डीआईजी मल्लले कस्तो प्रहरी बनाउने भन्ने कुरा ऐनमा आउनु पर्ने बताए । उनले नेताले चाहेका प्रहरीभन्दा पनि जनताले चाहेको बनाउन आवश्यक रहेको उनले बताए । ‘मुख्य कुरा हामीले जनताले चाहेको पुलिस बनाउने हो कि नेताले चाहेको पुलिस बनाउने हो ? सबै कुरा त्यहाँ गएर अड्किन्छ,’– उनले भने ।

साथै, उनले अहिले नेपालमा दुई तीन जना नेताको लहडमा ऐन बन्ने गरेको आरोप लगाए । संसद् र संसदीय समितिले ऐन बनाउँछ भन्ने कुरा नै गलत स्थापित भइसकेको उनको भनाइ छ । ‘यहाँ कस्तो भइदियो भनेदेखि संसद्ले पनि ऐन बनाउँदोरहन छ । संसदीय समितिको पनि अधिकार रहेनछ । दुई तिन जना जो नेताहरु छन् नि तिनले चाहेको, उसलाई लहड चलेको जो कुरा छन्, त्यही हाबी हुँदोरहेछ,’– उनले भने ।