अन्तरघातको महारोग अन्त्य गर्न सके कांग्रेसलाई ०८४ मा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः उपसभापति खड्का


काठमाडौं, १३ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । आज (शुक्रबार) केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको मतभेदलाई कोठामा बसेर संवाद गरिनुपर्ने बताएका हुन् । उनले देखिएका मतभेदलाई छलफल र संवादमार्फत समाधान खोजिनुपर्ने बताए ।

साथै, उनले कांग्रेसभित्रकै अन्तरविरोधका कारण कांग्रेसले कयौं निर्वाचनमा हार व्यहोर्नुपरेको बताए । कांग्रेसलाई कांग्रेसले नै हराउने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनले बताए ।

‘कांग्रेसलाई हराउन कोही चाहिँदैन । कांग्रेस भए पुग्छ । अरूले सक्दैन, त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनुपर्नेछ,’– उनले भने ।

उनले कांग्रेसमा देखिएको अन्तरघातको महारोगलाई अन्त्य गर्न सकिएको खण्डमा २०८४ मा पार्टीले एकल बहुमत ल्याउन सक्ने दाबी गरे ।

त्यस्तै, फरक प्रसंगमा उनले संविधान संशोधनका लागि कांग्रेस–एमालेबीचमा चाँडै संयन्त्र बनाएर काम सुरु गरिनेसमेत बताए । File Photo/RN