काठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सदन अवरोध भइराखोस् भन्ने चाहेको कुरा बुझेर सदन सुचारु हुने वातावरण बनाइएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सदन खुलाएको विषयमा केही नेता तथा कार्यकर्ताहरुले नबुझेर आफूलाई दुःख दिएको बताए । उनले सदन खुलाउनुको कारण राम्रोसँग बुझ्न आवश्यक रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सदन अवरोधलाई देखाएर अध्यादेशमार्फत बजेट र आफू अनुकूल कानुन ल्याउन चाहेको बुझेर आफूहरुले सहज वातावरण बनाएको उनले बताए ।
‘हामीलाई अलिकति टेक्ने आधार भयो भने सदन अवरोधमात्रै गर्न त यो सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ । तपाईँहरुले यो कुरा कति बु्झ्नुभएको छ, थाहा छैन । हाम्रा धेरै साथीहरुले बुझेनन्, मलाई दुःख दिए । पटक्कै बुझेनन्,’– प्रचण्डले भने, ‘सरकारको नेतृत्वले सदन नचलोस् भन्ने चाहेको हामीले बुझ्यौं । अहिले पनि त्यही छ । यो नचल्दिए हुन्थ्यो भन्ने छ । सदन भंग भैदिएदेखि अध्यादेशबाट सबै गर्ने, चाहे बजेटको कुरा होस्, चाहे अन्य ऐनको कुरा होस् । आफू अनुकूल अध्यादेशबाट ल्याउन चाहेको छ, त्यो बुझ्यौं हामीले ।’
साथै, अहिले सत्तारुढ दलको बीचमा पनि दूरी बढ्दो अवस्थामा रहेको उनले बताए । अध्यक्ष प्रचण्डले आफूहरुले अहिलेको राजनीतिक परिस्थितिलाई गहिरोगरी अध्ययन गरिरहेको बताए । उनले भने, ‘अर्कोतिर सत्तामा भएकाहरुको बीचमा जे–जति दूरी, अन्तर के–के छ, के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि हामीलाई थियो, छ । त्यही परिस्थितिमा हामीले केही कदम चालेका छौं । सबैले बुझ्नेगरी परिणाम निक्लेकै छ, निस्किन्छ ।’




प्रतिक्रिया