ओलीलाई साक्षी राखेर एमालेको राजनीतिमा फर्कने तयारीमा पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, १३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किन ‘वार्मअप’ गरिरहेकी छन् । भण्डारी अहिले एमालेका विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागी हुँदै आएकी छन् । यद्यपि उनले अहिलेसम्म एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छैनन् ।

मदन भण्डारी फाउन्डेशनले भोलि (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । पूर्वराष्ट्रपति भण्डारी सो कार्यक्रममा वक्ताको रुपमा रहेकी छन् ।

एमालेका नेता कर्ण थापाका अनुसार भोलि पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक विषयवस्तु राख्ने तयारी रहेको छ । ‘पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लाग्नुभएको हो ?’ भन्ने रिपोर्टर्स नेपालको जिज्ञासामा थापाले भने, ‘एमालेको राजनीतिमा फर्किने नफर्किने भन्ने सुन्नको लागि चाहिँ भोलि कुर्नैपर्छ । तर, उहाँले राजनीतिक विषयमा बोल्नुहुन्छ ।

भोलि हुने कार्यक्रममा विद्या भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई साक्षी राखेर सक्रिय राजनीतिमा फर्किने घोषणा गर्ने तयारी रहेको चर्चा सुरु भएको छ ।

यता, नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी घटकहरुले पनि भण्डारी सक्रिय राजनीतिमा फर्किएको हेर्न चाहन्छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीमा ल्याएर विद्यदेवी भण्डारीलाई सहजीकरण गरिदिएका छन् ।