काठमाडौं, १४ असार । काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले तारकेश्वर नगरपालिका वडा नं. ११ स्थित महादेव खोला आसपासको जग्गा अतिक्रमण गर्नेको तीनपुस्ते नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले साविकको मनमैजु महादेव खोला उकासको जमिन अतिक्रमण गरेको भन्दै १३ जनाको तीनपुस्ते सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार सो क्षेत्रमा भगवती थापा, प्रदीप थापा, प्रह्लाद कुमार थापा, रामकृष्ण बस्नेत, सुभद्र खनाल, केदारबहादुर थापा, लक्ष्मण थापा मगर, अनुप थापा मगर, अनित थापा मगर, सेती तामाङ, दावा तामाङ, नेमा तामाङले जग्गा अतिक्रमण गरेका छन् ।
प्राधिकरणका बोर्डका सचिव तथा कानुन अधिकृत घनश्याम पौडेलले अतिक्रमणमा परेको जग्गा राज्यको नाममा फिर्ता ल्याएरै छाड्ने बताए । ‘सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाड्छौं । जग्गा मिच्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन सिफारिससमेत गर्ने तयारी रहेको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।
सो क्षेत्रमा प्राधिकरणले अबैध संरचना हटाउन डोजर चलाउने तयारी गरेको छ । अतिक्रमित सम्पत्ति बेचविखन गर्न नपाउने गरी रोक्का गरिएको जिल्ला आयुक्त सुवास बस्नेतले बताए ।





प्रतिक्रिया