रवि लामिछानेलक्षित टिप्पणी गर्दै खतिवडाले भने,‘ जेलमा परेको छु, सहयोग गर्नुस् भनेर चन्दा उठाउन थाले’


काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा जापानलगायतका देशहरुमा मानव तस्करी गर्ने मानिसहरु सदनभित्रै रहेको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मानव तस्करलाई कारबाही गर भन्नेहरु नै कन्सल्टेन्सीमार्फत भिजिट भिसामा जापानलगायतका देशहरुमा मान्छे पठाउनमा संलग्न रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लक्षित गर्दै उनले भने, ‘अरुलाई मानव तस्करलाई कारबाही गर, कारबाही गर भन्दा आफूले के गरेको छ भनेर हेर्ने पद्धतिको विकास भयो भने अझ राम्रो हुन्छ । पारदर्शी बनौं, को हो म मान्छे चिन्दिनँ । ती मान्छेहरु संसदभित्रै यदाकदा छन् भन्ने मैले सुनेको छु । सरकारले यस विषयमा छानविन गरोस् । धेरै मान्छेहरु भिजिट भिसामार्फत जापान र अन्य देशहरुमा पठाइएको, तीनै मान्छेले आज पार्टी कब्जा गरेको, तीनै यहाँ आएर नारा लगाउने काम गरिएको छ । आफू एउटा काम गर्ने अनि अरुलाई गाली गर्ने प्रवृत्तिको अन्त्य होस् ।’

साथै, उनले रास्वपाका सभापति रवि लामिछानेलक्षित गर्दै उनले केही मान्छेहरुले जेलमा बस्दा पनि ठगी गर्न नछाडेको बताए । जेलमा परेको छु, सहयोग गर्नुस् भनेर पैसा उठाउन थालिएको उनको दाबी छ । ‘जेलमा बस्दा होस् वा बाहिर हुँदा होस् ठगी गर्ने नछोड्ने प्रवृत्ति बढेको छ । जोसुकै होस्, जेलमा परेको छु, सहयोग गर्नुस् भनेर चन्दा उठाउन थाल्यो भने के गर्नुहुन्छ ? मान्छेहरु यस्ता पनि देखिन थालेका छन्,’– उनले भने ।

‘रास्वपाको हस्ताक्षर अभियानलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘हस्ताक्षर गर्न पाइन्छ, ठग्न पाइँदैन । हस्ताक्षर गर्दा पनि चन्दा लिने ? सही पनि गर्न लगाउने, चन्दा पनि देऊ भन्ने ?’ प्रश्न गर्दै उनले भने ।