काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि गलत नरहेको बताएका छन् । आज (शनिबार) मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाकाली सन्धि ठीक रहेको र वर्तमान सरकार कार्यान्वन गर्ने पक्षमा रहेको बताएका हुन् ।
महाकाली सन्धिलाई देखाएर ततकालीन समयमा पनि पार्टी विभाजन गरिएको भन्दै उनले भने, ‘अहिले पनि म भन्न चाहन्छु– महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षामा अहिले पनि सरकार छ । अहिले सबै छन् यो पक्षमा, कार्यान्वयन गर्ने पक्षमा, म पनि छु । सम्भवतः सम्भव भएसम्म हामी महाकाली सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौं । यो गर्नु पर्ने चिज छ । त्यस सम्झौताअन्तर्गत हामी विजुलीको पैसा लिइराखेका छौं । त्यस सम्झौताअनुसार हामी पानी लिँदैछौं, लिन्छौं । त्यस सम्झौताअनुसार चाँदनीदोधारमा १० म्यूमेक्स पानी म पहिला प्रधानमन्त्री हुँदाखेरी कुरा गरेको थिएँ । अब फेरि कुरा अगाडि बढाउँछ् र चाँदनी दोधारामा पानी हामी लिन्छौं । त्यो सन्धि ठीक छ, सम्झौता ठीक छ ।’
उनले त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे, खोला बेचे भनेर गलत प्रचार गरिएको उनले बताए । कुनै नदी खोला नबेचिएको उनको दाबी छ । एमाले राष्ट्रको सार्वभौमसत्ता, समप्रभुत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हित तलमाथि हुन एमालेले नदिने उनले बताए ।




प्रतिक्रिया