एमालेलाई फुटाउन खोज्नु दर्शनढुङ्गा चपाएर दाँत भाँच्नुजस्तै होः केपी ओली


काठमाडौं, १४ असार । नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई फुटाउन सम्भव नरहेको बताएका छन् । आज (शनिबार) मदन भण्डारीको ७४औं स्मृति दिवसलाईमा आयोजित ‘जबजको तीन दशक’ विषय राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले एमाले स्पातजस्तै रहेको दाबी गरे । उनलेलाई फटाउँछु भनेर लाग्नु दर्शनढुङ्गा चपाएर दाँत भाँच्नुजस्तै रहेको बताए ।

‘फेरि नेकपा (एमाले) मजबुतीको साथ अगाडि बढेको छ । दिउँसै टर्च बालेर खोज्दा नभेटिनेगरी धुलो पार्छौं भन्दा, नेकपा (एमाले) धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शनढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो । कसैले फलामको टुक्रा चपाएर आफ्नै दाँत भाँच्नु बेग्लै कुरा हो । तर, नेकपा (एमाले) साधारण फलामको टुक्रा होइन, यो स्पात हो । यसमा स्पातीपन छ, सिद्धान्त, विचार र संगठनको,’– उनले भने ।

उनले एमालेलाई रक्तबीजसँग तुलना गरे । एमाले फुटाएर गएकाहरु सबै असफल भएको उनको दाबी छ । उनले भने, ‘यो रक्तवीजजस्तो हो । एउटालाई काट्यो भने त्यसको रगत जति छरिन्छ, त्यतिनै धेरै रक्तबीजहरु जन्मिन्थे, यो त्यस्तै हो । यसलाई दबाएर, यसलाई फुटाउँछौं कसैले भन्यो भने पनि त्यो सम्भव छैन । किनभने ठूल्ठूला महारथीहरु फुटाउनेहरु देखिए, ती सबै असफल भए ।’