मैले र विद्या भण्डारीले आज नै बम पड्काउँछ भनेर आशा गरेर बसेका छन्, एमाले एकजुट रहन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुगम देशको रुपमा परिणत गरेको दाबी गरेका छन् । आज (शनिबार) मदन स्मृति दिवसको अवसरमा आयोजित ‘जबजका तीन दशकविषयक राष्ट्रिय गोष्ठी’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालका सबै जिल्ला राष्ट्रिय सडकमार्गले जोडिने कुरा अब असार २० गते हुम्लाको सदरमुकाम जोड्ने सडक उद्घाटन गरेपछि पूरा हुने बताए । उनले भने,‘कुनैपनि सदरमुकाम अब दुर्गम रहेन, नेपाल दुर्गम रहेन । नेपाललाई हामीले सुगम देशको रुपमा परिणत गराएका छौं । यो जबजको सफलता होईन ? हामीले ९८ प्रतिशतश मानिसलाई विद्युत पुर्याएका छौं । ९० प्रतिशतभन्दा माथिलाई खानेपानी पुर्याएका छौं । पम्पिङ सिस्टम सुरु गरेका छौं । नेपाललाई टनेल युगमा प्रवेश गराएका छौं । तुईन हामीले देख्नै सकेनौं, लखेटेर वंशविनाश गरेर छोड्यौं । यो सफलता होईन ?’

उनले कृषि क्षेत्रको पनि ठूलो प्रगति गरेको दाबी गरे । उनले कृषिको विकास हेर्न गाउँतिर जानपनि विरोध गर्नेहरुलाई सुझाव दिए । काठमाडौंको एउटा कोठामा टिभी हेरेर कृषि क्षेत्रको विकास भएन भनेर आलोचना गरिएकोमा उनले आक्रोश पोखे । उनले मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आज विभिन्न ठाउँमा कार्यक्रम गरिएको र वृक्षारोपण समेत भएकोमा कतिपय मिडियामा राष्ट्रियसभाको कार्यक्रम भाँड्न लागिएको भनेर प्रचार गरेकोमा दुःख व्यक्त गरे ।

उनले कतिपयले आज विद्या भण्डारीले र आफूले बम पड्काउन लागेको र यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ भनेर सपना देखेको भन्दै विरोध गरे । उनले भने,‘कुनै बम, बारुद, गोला पड्किनेवाला छैन, एमाले एक छ । एक रहन्छ । एकजुट भएर अगाडि बढ्छ ।’