काठमाडौं, १४ असार । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले देखिनेगरी नै प्रतिशोध साँधेको बताएका छन् । आज (शनिबार) रास्वपासँग ऐक्यवद्धता जनाउन पुगेका डा.भट्टराई नयाँ उदयीमान शक्तिहरुको भ्रुण नै हत्या गर्न खोज्ने षड्यन्त्र विगतदेखि नै भइरहेको बताए । उनले रवि लामिछानेको मामलामा देखिनेगरी नै प्रतिशोधको गन्ध आइरहेको दाबी गरे ।
‘म आफैं लोकतन्त्र, गणतन्त्रको निम्ति लडेको व्यक्ति हुनाले अदालते तथ्य प्रमाणसहित दोषी ठहर नगरेसम्म ऊ निर्दोष हुन्छ भन्ने सिद्धान्त पनि छ । फेरि एउटा राजनीतिक व्यक्तित्वलाई देखिनेगरी प्रतिशोध भएको गन्ध आउँछ । यो ठीक भएन भनेर म नयाँ वैकल्पिक शक्तिहरुको रुपमा उदयीमान भइराखेको राष्ट्रिय स्वतन्त्र पार्टी छ, रवि लामिछाने मेरा मित्र पनि हुनुहुन्छ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ,’– उनले भने ।
लामिछानेमा एकपछि अर्को गर्दैै हिरासतमा राख्ने र घुमाइराख्ने, जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने कर्तव्य गर्न पनि नदिने काम भइरहेको उनले बताए । यसले विधिको शासनभन्दा पनि अरु कुनै नियतले काम गरेको छ कि भन्ने शंका गर्ने प्रशस्त आधार प्रदान गरेको उनले बताए । यस्ता प्रकारका गतिविधिमा राज्य सफल नहुने उनको दाबी छ । पुराना राजनीतिक दलहरुले आफ्नै लागि गहिरो खाडल तयार गरिराखेको उनको टिप्पणी छ ।
पुराना राजनीतिक दलहरुको निधेषको राजनीतिले नयाँ वैकल्कि राजनीतिक शक्तिको उदयका लागि थप आधार बनाइरहेको उनको दाबी छ । ‘जनताले सैद्धान्तिक रुपमा भन्दा पनि व्यवहारबाट बढी बुझ्ने हो । उहाँहरुको गलत हर्कत, गलत नियत आम जनताले बुझ्नेगरी प्रकट भइराखेको छ । प्रकारान्तरले वैकल्पिक र नयाँ शक्ति उदयको निम्ति आधार तयार पार्दैछ ।
वैकल्पिक र नयाँ शक्तिहरुको बीचमा सहकार्य गर्दै यस्ता बेथिति र विकृतिको विरुद्धमा लड्दै देशलाई निकास दिनुपर्ने उनले बताए ।




प्रतिक्रिया