काठमाडौं, १४ असार । एसइई पछिको यात्राका बारेमा काठमाडौँमा रहेको एक्टिभ एकेडेमीले करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित प्राइम टेलिभिजनका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले शिक्षा क्षेत्रको आमुल परिवर्तन अहिलेको आवश्यकता रहेको बताए ।
नेपालमा अहिले पनि शिक्षामा विभेद कायमै रहेको भन्दै उनले नेता र नागरिकको छोराछोरी एउटै विद्यालयमा पढ्ने वातावरण बनाउन माग गरे । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुले आफ्ना छाराछोरी तथा नाति–नातिनाहरुलाई सरकारी विद्यालयमा पढाए शिक्षामा रहेको विभेद अन्त्य हुने उनको दाबी छ । उनले राजनीतिमा रहेका र उच्चपदस्थहरुलाई आफ्ना सन्तान स्वदेशमै पढाउनपनि सुझाव दिएका छन् । उनले सरकारी तथा सामूदायिक विद्यालयमा राजनीति निषेध गरिनुपर्नेमा जोड दिए ।
उनले कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्न पनि सरकारसँग माग गरे । संविधानले नै शिक्षा निशुल्क हुने भने पनि नेपालको शिक्षा महँगो बन्दै गएकोमा उनले आपत्ति जनाए । एसईईको नतिजा केही सुधारिए पनि यो पर्याप्त नभएको धमलाले बताए । आगामी वर्ष ९८ प्रतिशतभन्दा बढि विद्यार्थी पास हुनेगरी शिक्षालाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो । शिक्षा क्षेत्रको सुधार नभएसम्म विद्यार्थी पलायन रोक्न नसकिने भन्दै उनले सरकारलाई सचेत गराए ।

कार्यक्रममा धमलाको नाममा हरेक वर्ष ४ जनालाई निःशुल्क पढाउने घोषणा गरिएको छ । प्रिन्सिपल प्रशन्न अर्यालले कक्षा १ देखि १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका हुन् ।




प्रतिक्रिया