जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त हो : शंकर पोखरेल


काठमाडौं, १४ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेष्ठ नागरिकलाई राज्यबाट बृद्धभत्ता प्रदान गर्ने कामको थालनी नै नेपालमा सामाजिक सुरक्षाको जग भएको बताएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित ‘जबजको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तर सम्वाद कार्यक्रममा महासचिव पोखरेलले उक्त धारणा राखेका हुन् ।

देशका नागरिकको सामाजिक सुरक्षा बलियो बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताउँदै उनले राज्यलाई बलियो बनाउन औपचारिक अर्थतन्त्रको विकास र नागरिकलाई करसँग जोड्नु त्यत्तिकै जरूरी रहेकोमा जोड दिए। महासचिव पोखरेलले त्यसका लागि सम्पूर्ण आर्थिक कारोबार डिजिटलाइज्ड गरिनुपर्ने बताए ।

‘सामाजिक सुरक्षा कार्यक्रम प्रत्यक्ष करसँग जोडिने विषय भएकाले यसलाई प्रभावकारी बनाउन करतिर्ने सामथ्र्यको विकास गरिनुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो– हामीले आफ्नो आम्दानीमा कर तिर्न आवश्यक छ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम लोककल्याणकारी राज्यको अवधारणा अन्तर्गत २०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिन थालेबाट शुरु भएको स्मरण गर्दै महासचिव पोखरेलले यो नै नेपालमा सामाजिक सुरक्षाको जग भएको र अहिले सामाजिक सुरक्षाको दायरा फराकिलो भएको बताए ।

पोखरेलले पुँजीवाद सङ्कटमा परेपछि प्रजातान्त्रिक समाजवादको अवधारणाले जन्म लिएको र पुँजीवादी देशले पुँजीवादको रक्षाका लागि समाजवादका विशेषता ग्रहण गर्ने क्रममा सामाजिक सुरक्षाको अवधारणाले स्थान पाएको स्पष्ट गरे। नेपालमा सामाजिक सुरक्षाको आयाम धेरै फराकिलो रहे पनि राज्यको सामथ्र्य नरहन पनि सक्ने अवस्थालाई मध्यनजर गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याइएको उनले बताए ।

महासचिव पोखरेलले त्यस अर्थमा कोषलाई सुरक्षित र प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्ने बताउँदै योगदानकर्तालाई अधिकतम प्रतिफल दिनसक्ने गरी कोषलाई प्रतिफलमूलक बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरू क्रान्तिपूर्व पनि शक्ति सञ्चयको कार्यनीति अन्तर्गत सरकारमा जान सक्छन् भन्ने जनताको बहुदलीय जनवादको मान्यता अनुसार २०५१ सालमा एमाले सरकारमा गएको स्पष्ट गर्दै उनले नेपालमा जबजको आलोकमा सामाजिक सुरक्षा व्यवस्थाका साथै अन्य धेरै काम भए पनि ती कामलाई स्थापित गर्ने र श्रेय लिने कुरामा कमजोरी रहेको बताए ।

पोखरेलले २०६२÷०६३ को आन्दोलनपछि पुनःस्थापित संसदले जे कुराहरूलाई अनुमोदन गर्यो ती सबै जबजका मान्यता रहेको र २०४७ सालको संविधानमा एमालेले राखेका २७ बुँदे फरक मत नै पुनःस्थापित संसदले अनुमोदन गरेको दाबी गरे । यसबाट जनताको बहुदलीय जनवाद नेपाली राजनीतिको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित भएको धारणा उनले राखे ।

एमालेको आठौं महाधिवेशनबाट बहुपदीय सङ्गठनात्मक ढाँचामा गएपछि नेपालका सबैजसो राजनीतिक दल परम्परागत सङ्गठनात्मक प्रणाली छाडेर बहुपदीय प्रणालीमा गएको स्मरण गर्दै महासचिव पोखरेलले विचारसँगै जबजले सङ्गठनात्मक ढाँचाका सन्दर्भमा पनि श्रेष्ठता हासिल गरेको बताए । कतिपय नेताहरूले गणतन्त्र स्थापनापछि जबजको सान्दर्भिकता सकिएको धारणा राख्ने गरे पनि २०६२÷०६३ सालको जनआन्दोलनले सामन्तवादी उत्पादन सम्बन्धलाई विस्थापित गर्ने काम गरेको पनि जनवादी व्यवस्थाको सुदृढीकरण गर्दै समाजवादमा पुग्नका लागि जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको उनले स्पष्ट गरे ।