किसानलाई पर्याप्तमात्रामा रासायनिक मल दिन सकिने अवस्था छैनः कृषिमन्त्री अधिकारी (भिडिओसहित)


काठमाडौं, १५ असार । कृषि तथा पुशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान रोपाईँका लागि किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले रासायनिक मल भारतको कलकत्तामा आइपुगेको र अब केही दिनमा नै नेपालमा आइपुग्ने बताएका हुन् । उनले पर्याप्त रुपमा मल उपलब्ध गराउन नसकिए पनि किसानहरुले धेरथोर मल पाउने बताए ।

‘हामीले पर्याप्त मलको व्यवस्था गर्न सकेका छैनौं । धान रोप्नका लागि सरकारको तर्फबाट दिइने रासायनिक मलका लागि त्यस्तो कमजोरी हुँदैन । हामी पर्याप्त व्यवस्थापन गर्न सक्दैनौं अझै पनि । कलकत्तामा मल आइसकेको छ । बिराटनगर, वीरगन्ज, भैरहवालगायतमा विभिन्न ठाउँहरुमा मल आउन सुरु भएको छ । पर्याप्त व्यवस्थापन गर्न नसकिए पनि मलका लागि अब रोकिनेवाला छैनौं । सबै किसानहरुलाई आ–आफ्नो ठाउँमा मल लिनका लागि हामी आग्रह गर्न चाहन्छौं,’– उनले भने ।

उनले नेपालले मल कारखानाको सन्दर्भमा लगानी बोर्डको माध्यमबाट छलफल अगाडि बढाएको बताए । उक्त छलफल सार्थकता पाउने क्रममा अगाडि बढिरहेको उनको दाबी छ । ‘मल कारखाना हामीले स्थापना त गर्न सुरु गरौंला । त्यसका लागि अझै पनि दुई तीन वर्ष लाग्न सक्छ । उनले अर्को ६ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल ल्याइने बताए । उनले अर्को वर्षका लागि बजेटको बिनियोजनसमेत भइसकेको जानकारी गराउँदै भने,‘यो वर्षका लागि जति असजिलो रह्यो । तर, आगामी वर्षका लागि हामीले दुई अर्व रुपैयाँ वृद्धि गरेर रासायनिक मल ल्याउन प्रयत्न गरेका छौं । अर्को वर्ष हाहाकारको स्थिति पनि हुँदैन ।’