न्यायाधीश नियुक्ति प्रक्रियाबाट बाहिरिन पोखरेललाई बर्तौलाको सुझाव, सम्झाए सर्वोच्च बारको चुनावी एजेण्डा


काठमाडौं, १५ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई प्रक्रियाबाट बाहिरिन सुझाव दिएका छन् । संसदीय सुनुवाइको क्रममा उनले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल अझै बाँकी रहेको स्मरण गराउँदै प्रक्रियाबाट बाहिरिन आग्रह गरेका हुन् । सर्वोच्च बारबाट राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुने उनको दाबी छ । नेता बर्ताैलाले प्रस्तावित न्यायाधीश पाखरेललाई स्वविवेकीय ढंगबाट योभन्दा अगाडिको प्रक्रियामा नजाने निर्णय गर्न आग्रह गरे । बर्तौलाले पोखरेलमा राजनीतिक पक्षधरता पनि प्रष्ट रुपमा रहेको बताए ।

उनले सर्वोच्च बारको निर्वाचन सम्झाउँदै प्रस्तावित न्यायाधीश पोखरेललाई ‘सात महिना अघिको कमिटमेन्ट फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ?’ भन्दै प्रश्न गरे । यदि उक्त कमिटमेन्ट च्यातेर, फ्याँकेर हिड्न मिल्ने हो भने अगामी दिनमा हुने फैसलामा न्यायिक विचलन आउनसक्ने उनको भनाइ छ ।

‘तपाईंको त झन्डै डेढ वर्ष कार्यकाल बाँकी छ। यो छोड्न मिल्छ ? प्रस्तावित हुनुभएको छ। यहाँलाई शुभकामना त छ नै। मेरो मत के हो भने– स्वविवेकीय ढंगबाट यो प्रक्रियाबाट अलग्गिनु राम्रो हुन्छ,’– नेता बर्तौलाले भने ।