पशुपतिमा सशस्त्र प्रहरीले अशुली धन्दा मच्चाएको प्रभु साहको आरोप


काठमाडौं, १५ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पशुपति क्षेत्रमा आउने पर्यटकहरुमाथि सशस्त्र प्रहरीले अशुली धन्दा चलाएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पशुपतिको असुली धन्दामा आईजीपी लेवलकै संलग्नता रहेको जानकारी पाएको पनि बताए । पर्यटकको सुरक्षा र सहजताकै लागि राखिएको सशस्त्र प्रहरीको बेस क्याम्पले असुली धन्दा मच्चाएको उनको आरोप छ ।

‘गृह मन्त्रालयको अर्को काण्ड बाहिरिएको छ । पशुपतिमा पर्यटकहरुलाई दर्शन गराउन सहजताको लागि, पर्यटकहरुलाई सहज ढंगले दर्शन गराउने नाममा सशस्त्र प्रहरीका घुमुवाहरु असुलीमा लागेको सूचना बाहिर आइरहेको छ । यो विषय के हो भन्ने म गृहमन्त्रीजीसँग जान्न चाहन्छु । सशस्त्र प्रहरीको त्यहाँ बेसक्याम्प सुरक्षाको लागि हो । पर्यटकहरुको सुरक्षाको लागि राखिएको बेस क्याम्प अथितिहरुको सम्मान र सुरक्षामा लाग्नुको सट्टा असुली गर्ने र अपमानित गर्ने काम लज्जास्पद हो र संस्थाकै मान मर्दन गर्ने काम हो । त्यसका काममा आईजीपी लेबलकै संलग्नता छ भन्ने कुरा पनि हामीले सुनिरहेका छौं,’– उनले भने ।

त्यहाँ संकलनमा लागेका व्यक्तिहरु वर्षौं सरुवा नहुने, अरु एकछिन पनि टिक्न नसक्ने स्थिति रहेको उनले बताए । उनले यसबारे के भएको हो भन्ने जानकारी दिन गृहमन्त्री रमेश लेखकको ध्यानाकार्षण गराए । उनले पशुपतिमा कार्यरत रहेका सशस्त्र प्रहरी जवान सुरेन्द्र महतोको निलम्बनबारे पनि सरकारको ध्यानाकर्षण गराए ।

‘सशस्त्र प्रहरीमा साधुलाई सुली, चोरलाई चौताराजस्तै । राम्रो काम गर्ने मान्छेहरु दण्डित हुनुपर्ने र नराम्रो काम गर्नेहरु पुरस्कृत भइरहेको छ । सशस्त्र प्रहरीको पशुपतिमा खट्ने एक जना सिपाही सुरेन्द्र महतो किन निलम्बन भयो भनेर जान्न चाहन्छु,’– उनले भने ।