कांग्रेस केन्द्रीय समिति बैठकः सांसद र मन्त्रीहरुले प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने


काठमाडौं, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न १३ वटा एजेण्डामाथि छलफल भएको छ । कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने छ ।

बैठकमा भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने र अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

आजको बैठकम महामन्त्रीले क्रियाशिल सदस्य नवीकरणका विषयमा जानकारी गराएका थिए । अब संसद् र मन्त्रीहरुले सरकारको बारेमा प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यहरुले बोल्ने पालो रहेको छ ।