माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा


काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले निजामती सेवा विधेयकका कुलिङ पिरियड हेरफेर प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) सभामुखसँगको छलफल सकेर बाहिरिने क्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्र्दै उनले निजामती विधेयकमा गरिएको छेडखानी आफूहरुलाई स्वीकार्य नरहेको बताएका हुन् ।

‘यदि जानाजानी सभापतिजीसमेत संलग्न हुनु्हुन्छ भने किर्ते जालसाझी भयो । कानूनी हिसाबले पनि गम्भीर कुरा हो । ल ठीक छ, उहाँको संलग्नता छैन भने पनि नैतिक रुपमा उहाँले आफूले हस्ताक्षर गरेको भन्दा विपरीत कहाँबाट आयो त ? त्यसैले नैतिक रुपमा सबैभन्दा पहिला समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ । उच्चस्तरीय वा संसदीय के हुनसक्छ, छलफल गरेर छानविन समिति बनाउनुपर्छ । यस घटनामा संलग्नहरुलाई कारबाही गरिनुपर्छ । नत्रभने संसद्को सर्वोच्चता कायम रहँदैन,’– उनले भने ।

संसद्मा टेवल भएको निजामति सेवा विधेयकमा २ बर्षे कुलिङ पिरियड राख्नेगरी समितिबाट टुङ्गिएको थियो । समितिमा पास भएको भन्दा विधेयक संसद्मा हेरफेर गरेर पेश गरिएको बताइएको छ ।

विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था गरिएको छ ।

तर, उक्त दफालाई निस्प्रभावी बनाउने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने राखिएको छ ।