काठमाडौं, १७ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले निजामती सेवा विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको विषयमा सिङ्गो संसद्लाई बदनाम गराउने काम भएको बताएका छन् । आज (मंगलबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले महिनौं लगाएर छलफल भएको विषयमा अर्को विषय कहाँबाट प्रवेश पायो भन्ने कुरा आफूहरुलाई अचम्म लागिरहेको उनले बताए ।
‘निजामती कर्मचारी सेवा विधेयकको सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो– यो महिनौं लगाएर छलफल भएको विषय हो । दु्ई वर्षको निम्ति कुलिङ पिरियड राख्नुपर्छ भनेर सहमति पनि भयो । त्यही सहमतिको आधारमा समितिबाट निर्णय भएर हामी अगाडि बढेको हो । अहिले अच्चमको कुरा के भयो भनेदेखि कुलिङ पिरियड नै मुख्यसचिव, सचिव, सहसचिवहरुको हकमा चाहिँ लागू नहुने प्रकारले प्रतिवेदन बन्यो । यो गम्भीर षड्यन्त्र हो । संसद्माथिको उपहास हो । सार्वभौम संसद् र सार्वभौम संसद्को समितिलाई धु्लीसात बनाउने कार्य हो । यो कार्य जोबाट भएको छ, त्यो कारबाहीको विषय बन्नुपर्छ । यसले सिंगो संसद्को गरिमालाई बदनाम गराउने काम भएको छ । यस्तो कुरा स्वीकार्य हुँदैन,’– उनले भने ।
विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था गरिएको छ ।
तर, उक्त दफालाई निस्प्रभावी बनाउने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने राखिएको छ । दफा ८२ (५) (क) को व्यवस्था सहमतिभन्दा बेगर रहेको सांसदहरुको भनाइ छ ।




प्रतिक्रिया