काठमाडौं, १७ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले निजामती सेवा विधेयकमा भएको कमीकमजोरी राष्ट्रिय सभाबाट सच्चिएर आउने बताएका छन् । आज (मंगलबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पाण्डेले निजामती सेवा विधेयकमा बदमासी गर्नेमाथि भने कारबाही हुनुपर्ने बताए । ‘अब यसलाई राष्ट्रिय सभाबाट सच्याउँछौं । सच्याउन नसकिने छैन, सच्याउन सक्छौं । सच्याउने साथसाथै यहाँ भएको बदमासीको कारबाही हुनुपर्छ,’– उनले भने ।
स्थायी सरकार भनिने कर्मचारी प्रशासनबाट निजामती सेवा विधेयकमा बदमासी भएको उनको आरोप छ । उनले भने, ‘स्थायी सरकार भन्नस् । सत्ताभित्रको पनि पोलिटिकल सत्ता र प्रशासनिक सत्ताभित्रको स्थायी सरकार भन्ने गरेका छौं । तिनीहरु नै लागे ।’ File Photo/RN
विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था गरिएको थियो ।
तर, उक्त दफालाई निस्प्रभावी बनाउने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने वाक्यांश घुसाइएको छ । यसकै कारणले आज बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकसमेत स्थगित भएको छ ।




प्रतिक्रिया