काठमाडौं, १७ असार । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं राष्ट्रिय सभा सदस्य रेणु चन्दले संसद्ले गरेको कामकारबाही फेरबदल गरिनु अपराध रहेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले निजामती सेवा विधेयकमा भएको जालसाझी षड्यन्त्रपूर्ण रहेको बताएकी हुन् । उनले यसलाई राष्ट्रिय सभाले गम्भीरतापूर्वक लिनुपर्ने बताईन् । राष्ट्रिय सभाको भूमिका ‘वाच एण्ड चेक’ को रहने बताउँदै उनले यस्तै बेलामा राष्ट्रिय सभाको औचित्य पुष्टि हुने बताईन् ।
‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको बारेमा जे सहमति गरिएको थियो, आइतबारको प्रतिनिधिसभाको बैठकबाट पारित हुँदा फरक परेको छ । यो कसरी भयो ? यो घटनाले सांसदहरुको, कर्मचारीहरुको कर्तव्य परायन्ता नियत र दायित्वमाथि सवाल खडा गरेको छ । संसद्ले गरेको काम कारबाही फेरबदल कसरी भयो ? यो अपराध हो, षड्यन्त्र हो र दुर्भाग्यपूर्ण हो । यसको तुरुन्त छानविन गरियोस् । राष्ट्रिय सभाको औचित्य पनि यहीँ र यस्तै बेलामा पुष्टि हुन्छ । हामी वाच र चेक गर्ने सभा हो । राष्ट्रिय सभाले यो कुरा गम्भीरताको साथ लिएको छ भन्ने कुरा सम्माननीय अध्यक्षज्यूमार्फत सरकार, मन्त्रीज्यूहरु, सम्बन्धित समिति र सबैमा अवगत होस्,’– उनले भनिन्् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामति सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियड राख्नेगरी सहमति गरेको थियो । तर, प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा समितिले टुङ्ग्याएको विषयभन्दा फरक गरी पारित भएको छ । यस विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।




प्रतिक्रिया