काठमाडौं, १७ असार । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आफ्नो पार्टी निजामती सेवा विधेयकमा कुलिङ पिरियड राख्नुपर्ने पक्षमा रहेको बताएका छन् । आज (मंगलबार) सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै, संसदीय समितिबाट सर्वसम्मतीमा पारित भएको निजामती सेवा विधेयकको दफामा फेरबदल गर्नेलाई कारबाहीको दायरामा ल्याइनुपर्ने उनको माग छ ।
‘कुलिङ पिरियड राख्न नै पर्छ भन्ने हाम्रो धारणा हो । त्यही भएर सर्वसम्मतीबाट समितिबाट कुलिङ पिरियड राख्ने भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा माननीय सदस्यहरुले दफाबार रुपमा पढ्नुभएन । विश्वासघात भयो । त्यो हुनाले जसले पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ । सरकारले संशोधन ल्याएर त्यसलाई सच्याउनुपर्छ,’– उनले भने ।
कुलिङ पिरियडको बारेका भएको व्यवस्था फेरबदल गर्ने जोकोही भए पनि कारबाहीको दयारामा ल्याइनुपर्ने उनको भनाइ छ । उनले थप भएको व्यवस्थालाई सरकारले संशोधन प्रस्ताव ल्याएर हटाउनुपर्ने बताए । ‘छानविन गरेर दोषीलाई कारबाही पनि गर्नुपर्छ र जहाँ त्रुटी भएको छ, अपर हाउसमा त बाँकी नै छ । त्यहाँ त्यसलाई संशोधन गरेर जे स्पिरिटमा समितिमा सहमति भएको थियो, त्यही अनुसार कुलिङ पिरियड राखेर नै कार्यान्वयन गर्नुपर्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया