काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य हृदयराम थानीले पार्टीले निजामती सेवा विधेयकमा कुलिङ पिरियड राख्नका लागि सुरुदेखि नै दवाब दिँदै आएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चार महिनाको लामो छलफल पछि आफूहरुले निजामती सेवा विधेयकमा कुलिङ पिरियड राखेको बताएका हुन् । संसदीय समितिबाट तीन जना मन्त्रीको उपस्थितिमा सर्वसम्मतले पारित भएको विधेयकमा चलखेल भएको उनको दाबी छ । उनले मुख्यसचिव र प्रतिनिधिसभाका महासचिवले विधेयकमा चलेखेल गरेको हुन सक्ने आशंका व्यक्त गरे ।
‘हाम्रो मुख्यसचिव, संसद्को महासचिवजीहरुले वास्तवमा भन्ने हो भने देउसी–भैलोजस्तै उता विधेयक बन्ने प्रक्रियामा छ, यता कहिले प्रतिनिधिसभामा कहिले राष्ट्रिय सभामा गएर देखेको अवस्था पाउनुभएको छ । छलफलको विषय हुँदोखेरी हामीले देउसीभैलो देख्ने अवसर पायौं,’– उनले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकमाथिको चलखेलमा ठूलो ग्याङ रहेको उनले बताए । देशका विशिष्ट श्रेणीका कर्मचारीहरुले सुरुमा जे कुरा भनेको त्यही कुरा विधेयकमा लेखिएर आएको उनले बताए । उनले यस कार्यले संसद्को सार्वभौम अधिकार हनन भएको उनले बताए । उक्त कुरा साधारण विषय नरहेको उनले बताए ।
‘यो एक जना दुई जनाले गरेको होइन । समितिमा चार महिना छलफल गरेको विषयलाई एक जना दुई जनाले होइन । यहाँ आज संसद्को सार्वभौम अधिकरा कहाँ गयो ? म लगायत २७ जना सांसद् छौं । आज हामीले लेखेकोे कुरा फाल्दिने काम भयो । यो मुलुकका विशिष्ट कर्मचारीले जे कुरा भने त्यही कुरा ८२ (५) (क) मा लेखेर आयो । एक जनाको तागत होइन, ठूलै ग्याङ छ यहाँभित्र,’– उनले भने ।
निजामती सेवा विधेयकका कुलिङ पिरियडको सम्बन्धमा चलखेल गर्ने जोसुकै भए पनि तत्काल कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ ।




प्रतिक्रिया