पत्रकार पाठक अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने


काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आफूविरुद्ध दर्ता भएको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दामा बयानका लागि उनी आज अदालत उपस्थित भएका हुन् ।

उनले बयान र थुनछेक बहस आजै हुने बताइको छ । पाठकको मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासमा पेशी तोकिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले पत्रकार पाठकविरुद्ध केही दिनअघि मुद्दा दायर गरेको थियो ।

पाठकले सामाजिक सञ्जाल युट्युव च्यानलमार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामाग्री सम्प्रेषण गरेको आरोप पत्रमा उल्लेख छ । पाठकले ‘काठमाडौंस्थित रहेको पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दिपक भट्टको लगानी रहेको छ । नीज दिपक भट्टमार्फत जयविर देउवा हिल्टनमा जोडिएका छन् । जयवीर देउवाको दुवई र अष्ट्रेलियामा रियल स्टेटको बिजनेश छ’ लगायतका शब्द प्रयोग गरी भिडिओ बनाई घृणा, द्वेष फैलाउने कार्य गरेको, व्यक्तिको चरित्र हत्या परेको आरोप पत्रमा उल्लेख छ ।

पाठकलाई एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुनुपर्ने माग रहेको छ ।