काठमाडौं, १९ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले ठूला ठूला आन्दोलन र परिवर्तन भएर देशमा व्यवस्था परिवर्तन भएपनि जनताले के पाए ? भन्दै शीर्ष नेताहरुलाई प्रश्न तेर्साएका छन् । उनले जनताले नेताहरुप्रति गुनासो रहेको भएपनि व्यवस्थाप्रति गुनासो नरहेको सुनाए । उनले आफू देशव्यापी जनतासँग अन्तरक्रिया गर्दै हिँडेको भन्दै विकास नभएकोमा चिन्ता व्यक्त गरे । पत्रकार किशोर श्रेष्ठसँगको एक घण्टा लामो कुराकानीमा धमलाले जनताले खोजेको विकास भएको भन्दै त्यतातिर ध्यान दिन शासकलाई सुझाव दिएका छन् ।
सो क्रममा धमलाले पाँच पटक देशको प्रधानमन्त्री भएको र ७ पटक चुनाव जितेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि विकास नभएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘म शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगें, ७ पटक चुनाव जितेको मान्छे, पाँच पटक देशको प्रधानमन्त्री बनेको मान्छेको जिल्ला कस्तो छ भनेर गएँ ? न विकास भएको छ, न त जनता नै खुशी छन् ? डडेलधुरामा तिव्र गतिमा विकास नै भएको छैन । वडामा पुग्ने सडकहरु पिच भएका छैनन् । स्कुलहरुमा क्वालिटीको शिक्षा छैन । त्यहाँ जनताले पिउने पानी अझै पाएका छैनन् । शेरबहादुर देउवा र आरजु राणाको जिल्ला हो यो ।’
ऋषि धमलाले परराष्ट्रमन्त्री डा. आरजु देउवालाई डडेलधुरा र कैलालीका जनताको अवस्था के छ भनेर हेर्न सुझाव दिएका छन् । उनले भने,‘परराष्ट्रमन्त्री भन्नुहुन्छ पुतलीसडकमा गाडीमा बसेर यसो दायाँबायाँ हेर्दाखेरि पहिला मान्छेहरु नाम्लो हातमा बोकेर भरियाको रुपमा देखिन्थे, तर अहिले त सबैको हातमा मोवाइल देख्छु म, युग परिवर्तन भएछ भनेर परराष्ट्रमन्त्रीले भन्नुहुन्छ, तर तपाईंकै जिल्ला डडेलधुरामा जानुहोस, कैलालीमा जानुहोस त्यहाँको जनतको अवस्था के छ भनेर पहिला हेर्नुहोस, पुतलीसडकका जनतासँग तपाईंले तुलना गर्न मिल्दैन । पुतलीसडकमा १०÷१५ वर्ष पहिले मजदुरी गर्नेहरु देश छोडेर गैसके, खाडी मुलुकमा गैसके । उनीहरुले नेपालमा रोजगारी पाएनन । उनीहरु पलायन भैसके ।’ उनले देश बनाउने सपना बोकेर आएका परराष्ट्रमन्त्री राणालाई सोधे–‘देश बन्यो त ? म नेताहरुलाई प्रश्न गर्न चाहन्छु ।’




प्रतिक्रिया