महाधिवेशनको मिति तोक्न देउवालाई अर्जुननरसिंह केसीको दवाब, अनशन बस्ने चेतावनी


काठमाडौं, १९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औं महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । पार्टी सभापतिदेखि पदाधिकारीसमेतले समयमै महाधिवेशन हुन्छ भनेको तर कहिले हुन्छ भनेर भन्न नसकेको अवस्था रहेको बताउँदै उनले महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने बताए । उनले आफू भने महाधिवेशन २०८२ भित्रै हुनुपर्ने पक्षमा रहेको पनि बताए ।

‘पार्टी सभापतिदेखि पदाधिकारीहरू समयकै अधिवेशन हुन्छ भन्ने कहिले हुन्छ नभन्ने। अब मिति तोक्नै पर्ने आवश्यकता छ। समय थप्ने हो भने थपेर पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्‍यो । मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ,’– केसीले भने ।

साथै, उनले पार्टी अनुशासन समितिको कामकारबाही पारदर्शी हुन नसकेको बताए । आयोगले पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने भएको भन्दै उनले अनशन बस्ने चेतावनी दिए ।

उनले पुराना राजनीतिक दलप्रति जनताको भरोसा टुट्दै गएको पनि बताए । अहिले पुराना दलहरुले केही गर्न सकेनन् भन्ने प्रचार भइरहेको बताउँदै उनले त्यसलाई चिर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । File Photo/RN