राप्रपाद्वारा उपाध्यक्ष प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन


काठमाडौं, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानको नेतृत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको हो ।

उक्त परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

बैठकले रुपन्देहीको क्षेत्र नं–३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको सन्दर्भमा निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशनसमेत दिएको छ ।

त्यस्तै, राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्ने र यसको विस्तृत कार्ययोजना पार्टी सचिवालयले तयार पार्ने बताइएको छ ।

त्यस्तै, हाल चर्चामा रहेको भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका सम्बन्धमा देशको साख, अध्यागमन प्रणालीको विश्वसनीयता र विमानस्थलको सुरक्षा संवेदनशीलतामा प्रश्न उठेको राप्रपाको निष्कर्ष रहेको छ । आफूहरुको दवाब र विरोधका वाबजुद पनि जबर्जस्त संसदीय प्रक्रिया अघि बढाइनु र उच्च तहको संलग्नताका सम्बन्धमा छानबिन गर्ने विषयमा सरकार उदासीन रहनु रहस्यमय र खेदजनक रहेको पनि राप्रपाले बताएको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने राप्रपाको माग छ । File Photo/RN