काठमाडौं, १९ असार । रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर नेकपा (एकीकृत समाजवादी) मा यतिबेला हलचल मच्चिएको छ । पतञ्जली योग पीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाएपछि पार्टीसम्वद्ध युवा संगठनको कार्यक्रममा झाँक्रीले बोलेको विषयमा विवाद भएको हो ।
झाँक्रीको उक्त अभिव्यक्तिलाई लिएर पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले झाँक्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । ‘उहाँलाई स्पष्टीकरण सोधिएकै हो । पार्टीको अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो । अब उहाँले जवाफ दिनुहुन्छ,’– खतिवडाले भने ।
यद्यपि, झाँक्रीले भने आफूलाई आजसम्म स्पष्टीकरण नसोधिएको बताउँदै आएकी छन् । आज पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्न माग गर्दै पुगेकी झाँक्रीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियातिर सोध्नुभएको रहेछ । मलाई स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज मिडियामा बिहानभरी त्यही कुरा सुनेँ । उहाँहरुले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भनेको सुनेको थिएँ । मैले बोलेको कन्टेनको हिसाबले । फेरि पार्टीले १५ गते यसको विषयमा क्रिया प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनप्रश्चात उहाँहरुलाई प्रोत्साहन नै गरेजस्तो । भयङ्कर नै गरेजस्तो ।’
आजको पार्टी सचिवालय बैठकमा झाँक्रीलाई पार्टीबाटै निष्काशन गर्नुपर्नेसम्मको प्रस्तावमाथि छलफल भएको बताइएको छ । आजको केही नेताहरुको समय अभाव र महासचिव घनश्याम भुसाल विरामी भएर बैठक स्थगित गरिएको भनिए पनि झाँक्रीलाई पार्टीबाटै निष्काशन गर्नुपर्ने प्रस्ताव बैठकमा छिरेपछि स्थगित गरिएको बताइएको छ । File Photo/RN




प्रतिक्रिया