काठमाडौं, १९ असार । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय समिति र आम निर्वाचनमा ४० वर्षभन्दा मुनिका २० प्रतिशत सदस्य अनिवार्य गर्न प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने माग राखिन् ।
‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गरौँ । प्रदेश प्रतिनिधिहरूकै प्रदेश कार्यसमितिमा आउनुपर्छ । दलमा युवा प्रतिनिधित्व बढाउनुपर्छ । त्यसका लागि पार्टी केन्द्रीय समिति, सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा संगठनबाट उम्मेदवार छान्दा ४० वर्षमुनिका २० प्रतिशत युवा अनिवार्य गरौँ ।’ –थपलियाको भनाइ छ ।
उनले दलको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाइन् । नेपाल विद्यार्थी संघकी महामन्त्री रहिसकेकी थपलियाले थपिन्– ‘खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैङ्क बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ ।’ थपलियाले भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन २÷२ वर्षमा अधिवेशन अनिवार्य गर्नुपर्ने बताइन् ।




प्रतिक्रिया