काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा चार जनाविद्ध मुद्दा दायर


काठमाडौं, १९ असार । काल्पनिक विद्यालयको नाममा रकम विनियोजन गरी अपचलन गरेको आरोपमा चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ को कुनै पनि बस्तीमा नरहेको विद्यालय दुर्गा प्राथमिक विद्यालय, तिप्लाको नाममा योजना पारेर अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सो मुद्दामा अख्तियारले जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मि, दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध मुद्दा दायर गरेको छ ।

डोल्पा ठुलीभेरी नगरपालिका वडा नं.४ साविक दुनै गाविस वडा नं. २ र ३ मा श्री लालीगुँरास आधारभूत विद्यालय मात्रै भएको र दुर्गा प्रा.वि. को नामले हालसम्म कुनै पनि विद्यालय नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्रतिवादीहरुसँग ७ लाख ६० हजार रुपियाँ बिगो कायम गरी असुल उपरको मागदाबी गरिएको छ ।