काठमाडौं, २० असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डिगबहादुर लिम्बुले पार्टीको केन्द्रीय समिति बैठकमा गठबन्धनलाई राम्रो बनाउनको निम्ति छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धनमा केही संशयहरु उठिरहेको बेलामा छलफल हुनु स्वभाविक रहेको बताएका हुन् ।
‘गठबन्धनलाई राम्रो बनाउनको लागि छलफल हुने कुरा स्वभाविक हो । तर, गठबन्धनको बारेमा केही संशयहरु बढेकी भन्ने अनुभूति भएको छ । त्यो विषयमा नेताहरु बसेर छलफल गरेपछि टुङ्गिन्छ,’– उनले भने ।
साथै, उनले समझदारीअनुसार अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवधि सकिनु अगाडि शेरबहादुर देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिन्छु भन्दै हिँडेको बताए । प्रधानमन्त्री ओलीले नभन्नुपर्ने कुराहरु भन्दै हिँडिरहेको उनको भनाइ छ ।
‘त्यो पटक–पटक भनिरहने विषय पनि होइन । समझदारी जे भएको छ, त्यहीअनुसार अगाडि बढ्नुपर्ने विषय हो । तर, म अगाडि नै दिन्छु, किस्तीमा राखेर दिन्छु भन्नुहुन्छ । किन भनिराखेको हो, त्यो चाहिँ अब प्रधानमन्त्रीलाई नै थाहा होला । शेरबहादुर दाईलाई नै बढी थाहा होला,’– उनले भने ।




प्रतिक्रिया