एमालेको भविष्यप्रति माधवको चिन्ता, अन्तरविरोधले ग्रस्त रहेको दाबी


काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) भित्र अन्तरविरोध झाङ्गिदै गएको बताएका छन् । आज (शुक्रबार) नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशनलाई सम्बोधन गर्दैै उनले एमाले निकै संकटग्रस्त अवस्थामा रहेको बताएका हुन् ।

‘नेपालको राजनीतिमा मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा (एमाले) निकै संकटले ग्रस्त भएको छ । त्यहाँभित्र अन्तर्विरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो, त्यति सजिलैगरी भन्न सकिने अवस्था छैन,’– उनले भने ।

उनले एमालेमा कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादी प्रवृत्तिको सिकार हुने, दक्षिणपन्थी अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने प्रवृत्ति रहेको दाबी गरे ।

साथै, अध्यक्ष नेपालले अहिले सरकारले मुलुक राम्रोसँग हाँक्न नसकिरहेको बताए । सरकार जनविरोधी बन्दै गइरहेको उनको भनाइ छ । उनले यस्तो प्रकारको सरकारलाई एकीकृत समाजवादीले साथ दिन नसक्ने बताए ।

‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोरी हाँक्न सकिरहेको छैन । जनभावनालाई बुझ्न सकिरहेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्बन गर्न सकेको छैन । जनताको पीडा र बेदनालाई सम्बोधन गर्न सकेको छैन । त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सकेको छैन । परिणाम पनि दिने अवस्था छैन । हामीले यस्तो सरकार यो जनमुखी होइन, जनविरोधी हो । यस्तो सरकार सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । त्यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खाली हामीले समय पर्खिनुपर्ने हुन्छ,’– उनले भने ।