काठमाडौं, २० असार । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीले छाड भनेको खण्डमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छाड्न तयार रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा निजामती सेवा विधेयकबारेको विवादमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भन्दा फरक पारेर विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो । विधेयकमा भएको छेडखानीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतले उनको राजीनामा माग गरेका थिए ।
सो विधेयकमा सभापतिको हैसियतमा आफ्नो पनि गल्ती रहेको स्वीकार गर्दै खतिवडाले भने, ‘मेरो पनि सभापतिको हैसियतमा केही गल्ती कमजोरी छ । अहिले नै पार्टीले बाहिर बस् भन्यो भने म तयार छु ।’
साथै, उनले कांग्रेसकै नेताहरुले बाहिर आफ्नो बदनाम गराउनेगरी बोलेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्रै एकअर्कालाई खुइल्याउने काम भइरहेको र त्यस्तो कार्य रोकिन जरुरी रहेको बताए ।File Photo/RN




प्रतिक्रिया