काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एक साताअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । तर, अहिलेसम्म उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै निर्णय लिएका छैनन् ।
पार्टीको कार्यकारिणी समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्कर्ष निकालिएको थियो । उक्त बैठकले संसदीय दललाई नै यसबारेमा निर्णय लिन भनेको थियो । तर, अध्यक्ष यादवले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । उनी कांग्रेस–एमाले सत्ता गठबन्धन बनेको दिनदेखि नै सँगै छन् ।
उनको दल सरकारमा सहभागी छैन । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेका छन् । संविधान संशोधन गर्ने प्रतिबद्धता गरेकोले आफूहरुले कांग्रेस–एमालेको सरकारलाई साथ दिएको भएपनि यसबारेमा कुनै ठोस थालनी नगरिएको भन्दै जसपा नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्कर्षमा पुगेको यादवको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सन्देश पुर्याएको थियो । तर, प्रधानमन्त्री ओली युएनको एक कार्यक्रममा सहभागी हुनको लागि त्यतिवेला स्पेन गएका थिए । उनी पाँच दिन लामो भ्रमण सकाएर आज स्वदेश फर्किँदैछन् ।
प्रधानमन्त्री ओलीसँग भेटेर नै यादवले दलको समर्थन सरकारलाई अब नरहनेबारे जानकारी गराउने बुझिएको छ । यस्तै, सरकारमा सहभागी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीपनि अब सरकारबाट बाहिरिने तरखरमा छ । अध्यक्ष श्रेष्ठले पार्टी अब प्रतिपक्षी कित्तामा उभिने स्पष्ट रुपमा घोषणा गरेकी छिन् ।
सदूरपश्चिम सरकारमा सहभागी आफ्नो दलका मन्त्रीलाई बर्खास्त गरेपछि नाउपा केन्द्र सरकारबाट पनि बाहिरिने भएको हो । अहिले केन्द्र सरकारमा नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । नाउपाले सूदुरपश्चिम सरकारलाई दिएको समर्थन आजै फिर्ता लिएको छ ।




प्रतिक्रिया