संघीय सांसदहरुले विधेयकमा ‘यो देश लिजमा दिइने छ’ भनेर लेखिदिएको भए पनि पास गर्नेरहेछन्ः पूर्वमुख्यमन्त्री कार्की


काठमाडौं, २२ असार । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ पिरियडमा भएको छेडखानी गम्भीर रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संघीय सांसदहरुले ‘यो देश लिजमा दिइने छ’ भनी लेखेको विधेयक पनि पास गर्लान् भन्ने डर बढेको बताएका हुन् ।

‘संसद्को राज्य व्यवस्था समितिमा यो देश चाहिँ अरुले चलाउन सक्दैनन्, हामीमात्रै चलाउन सक्छौं, हामीमात्रै जान्ने छौं भन्नेहरु राज्य व्यवस्था समितिमा हुनुहुँदोरहेछ । उहाँहरुको त्यो विधेयकमा ‘यो देश लिजमा दिइने छ’ भनेर कुनै कर्मचारीले पैसा खाएर लेख्दिएको भए, या कोही मिलेर लेख्यो भनेदेखि पनि पास हुनेरहेछ नि संघीय संसद्बाट,’– उनले भने ।

उनले संघीय संसद् नै विघटन गरिदिए हुने बताए । संघीय संसद् र सरकार नै नरही राष्ट्रपतिले चलाउने व्यवस्था आवश्यक रहेको उनले बताए । ‘संघीय संसद् विघटना गर्दिन पर्यो नि । संघीय संसद् र सरकार नै चाहिएन । राष्ट्रपतिलाई चलाउन दिनुस्, प्रदेशका मुख्यमन्त्रीहरुलाई मन्त्रीजस्तोगरी तोकिदिनु् । भइगयो नि किन चाहियो ? सबैभन्दा भ्रष्टाचारमा माथिका जोडिएका छन्, सबैभन्दा काण्डैकाण्ड चाहे सहकारी काण्ड होस्, चाहे टेरामक्स काण्ड होस् जे– जे नयाँ–नयाँ काण्ड आउँछन् । सबै काण्ड केन्द्रमै छ,’– उनले भने ।