सत्ता गठबन्धन तोड्न प्रचण्ड लागिपरेको रघुवीर महासेठको खुलासा, सत्ता घटककै केही सांसदहरूको साथ


जनकपुर, २२ असार । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन भत्काउन लागिपरेको बताएका छन् । प्रचण्डले कांग्रेस–एमालेको गठबन्धन भत्काउनको लागि गृहकार्य गरेको र त्यसमा रास्वपालगायतले साथ दिएको महासेठको दाबी छ ।

तर, अहिलेको गठबन्धनमा कुनै प्रतिकुलता नआएको पनि उनले स्पष्ट पारे । आज (आइतबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठबन्धन भत्काउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु लागिपरेको दाबी गरेका हुन् ।

उनले भने,‘यो गठबन्धन भत्काउन प्रचण्ड लागिपर्नुभएको छ । उहाँलाई केही स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले साथ दिएका छन् । यो वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि यसमा लागिपरेका छन् । अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा पुगेको छैन ।’ उनले कांग्रेस–एमालेको अहिलेको गठबन्धनको कुनै विकल्प नभएको स्पष्ट पारे ।

उनले आफूहरुले राजर्षी जनक विश्वविद्यालयको प्रशासनिक भवन बनाउनको लागि कुनै अवरोध नगरेको स्पष्ट पारे । उनले विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालय नल्याएको बरु यो ल्याउनको लागि स्वर्गीय प्रदीप नेपालको भूमिका रहेको पनि स्मरण गराए । file photo