जापान पठाउने नाममा रास्वपा केही नेताहरुले लुट मच्चाएको कांग्रेस नेता रसाइलीको आरोप


काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जापान जाने कामदारमा चरम शोषण भइरहेको बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले जापान जाने कामदारहरुमाथि भएको शोषणको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । उनले विगत १५ वर्षदेखि वैदेशिक रोजगार विभागले नेपाल र जापानले कानूनी रूपमा नचिनेको संस्था जाइका अल्मुनाइ एसोसिएसन नेपाल (जान) लाई भाषा परीक्षा लिने संस्था खडा गरिएको बताए । नेता स्नेहीले भाषा परीक्षाको नामा ‘जान’ को सिन्डिकेट रहेको बताए ।

यस वर्षमात्रै जापानमा २२ हजार श्रमिक गएको बताउँदै उनले यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको पनि संलग्नता रहेको दाबी गरे । सो क्रममा उनले रास्वपाका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेसमेतको नाम लिएर ।

‘जान भन्ने संस्थाले त्यो विवाद पनि भएको हुनाले जान भन्ने संस्थाले सिन्डिकेट खडा गरेर त्यसमा रवि लामिछानेका मान्छेहरु पनि मिसिएर, यति धेरै सिन्डिकेट खडा गरेर कर्मचारीसँग मिलेर विगत १५ वर्षदेखि अर्बौँ रुपैयाँ लुटिरहेका छन् । पछिल्लोपटक आएको कुरा यही हो, स्वर्णिम वाग्लेदेखि त्यो पार्टीका मान्छेहरुबीचमा,’– बैठकमा उनले भने ।

उनले यसबारेमा परराष्ट्र मन्त्रीले, श्रम मन्त्रीले, गृहमन्त्रीले गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । जापान पठाउने नाममा अर्बौंको लुटतन्त्र मच्चिएको उनको दाबी छ । त्यसका बारेमा संसद्, सरकार र पार्टीले धारणा बनाउनुपर्ने उनले बताए ।