‘जनाधार खस्किँदै गएकोप्रति गम्भीर हुन जरुरी छ, नत्र ०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुन्छ’


काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै डा.महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,’– उनले भने ।

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए । ‘हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टु द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान् छौं । यही हाम्रो पार्टीको आधार हो, हरेक धर्म मान्नेको अधिकार सुनिश्चत गर्दै यसको संरक्षण गर्न जरुरी छ,’ महतको भनाइ थियो ।

‘धार्मिक स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो। धार्मिक स्वतन्त्रता हुनुपर्छ, सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्छ, पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ,’– उनले भने ।

डा.महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

डा.महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, ‘सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।’

डा.महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए । ‘विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,’ उनले भने ।

साथै, उनले गठबन्धन सरकार र मन्त्रीहरूबारे आफ्नो धारणा राख्दै सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए । ‘गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो । तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार तयार गर्न जरुरी छ,’– उनले भने ।