NRNA जापानको केन्द्रिय सदस्यमा कृष्ण प्रसाद भुसालको उम्मेदवारी घोषणा


टोकियो, (जापान) २३ असार | गैरआवासीय नेपाली संघ (NRNA) जापानको केन्द्रिय सदस्य पदका लागि कृष्ण प्रसाद भुसालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। ‘निरन्तर नेपालीको सुख-दुःखको सारथी, पदमा भन्दा कर्ममा विश्वास’ भन्ने मुल नारासहित उनले आगामी कार्यकाल (२०२५–२०२७) का लागि केन्द्रिय सदस्य पदमा दाबी प्रस्तुत गरेका हुन्।

भुसाल हाल नेपाली विद्यार्थी समाज जापान (NSAJ) का अध्यक्ष तथा NRNA जापानका सल्लाहकारको रूपमा क्रियाशील छन्। यसका साथै, उनी NRNA जापान अन्तर्गतको शिक्षा तथा विद्यार्थी विभागमा पनि सक्रिय सदस्यका रूपमा कार्यरत छन्।

जापानमा रहेका नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी र सम्पूर्ण समुदायका हकहितका पक्षमा निरन्तर सक्रिय रहेका भुसालले विभिन्न सामाजिक अभियन्ता गतिविधिमा पनि उल्लेखनीय भूमिका निभाउँदै आएका छन्। जापानी तथा नेपाली संघसंस्थाहरूसँगको सहकार्य, रोटरी क्लबलगायत सामाजिक संस्थाहरूमा उनको प्रभावकारी संलग्नता रहेको छ।

उम्मेदवारी घोषणासँगै भुसालले NRNA जापानलाई अझ समावेशी, उत्तरदायी र सेवा–मुखी बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन्। समाजसेवामा समर्पित दृष्टिकोणका साथ समुदायको सुख–दुःखमा नजिक रही नेतृत्व प्रदान गर्दै आएका भुसालप्रति जापानस्थित नेपाली समुदायले सकारात्मक समर्थन जनाएको छ।