काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले देश अहिले सरकारबिहीन अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कसैले पनि सरकार भएको अनुभूति गर्ने अवस्था नरहेको बताएका हुन् । उनले देशको अवस्था झन–झन नाजुक बन्दै गएको बताए ।
‘देशको राजनीति सरकारबिहीन अवस्थामा छ । संसद् आफैंमा प्वाल पर्यो, जसले हाम्रो अन्तर्राष्ट्रिय बदनाम गरायो । अन्तर्राष्ट्रिय सम्बन्धहरु झन–झन बिग्रिदो छ । अदालतले फैसला गर्छ, न्याय दिँदैन । विमानस्थलबाट जनतामाथि तस्करी हुन्छ । प्रधानमन्त्री आफैं कूलपति, विश्वविद्यालयहरुमा आफ्नै भातृ संगठनहरुले ताला लगाउँछ । भ्रष्टाचार र चरम महँगी छ । एउटै कानून फरक–फरक मान्छेलाई फरक–फरक ढंगले लगाइएको छ । खास भनौं भने देशमा सरकार छैन,’– नेता किरातीले भने ।
साथै, दुई तिहाइ बहुमतको फुर्ती लगाउने प्रधानमन्त्री केपी शर्मा ओली ‘मेरो सरकार ढल्दैन’ भनेर हिँडिराख्न परेको उनले बताए । सरकारको अवस्था नाजुक रहँदा पनि माओवादीले सरकार ढाल्ने कुनै कसरत नगरेको उनले बताए । ‘सरकार ढाल्ने बाटोमा हामी अहिले पनि छैनौं,’– उनले भने । File Photo/RN




प्रतिक्रिया