सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन, माओवादी सांसदहरुले गरे बैठक बहिष्कार


काठमाडौं, २३ असार । प्रतिनिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको छ । समतिको आज (सोमबार) बसेको बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरको प्रस्तावित मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका प्रस्तावित मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो ।

यस्तै, समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नामसमेत अनुमोदन गरेको छ । तर, समितिको बैठक माओवादी केन्द्रका सांसदहरुले भने बहिष्कार गरेका छन् । प्रस्तावित नाम नै समावेशी नभएको भन्दै माओवादीका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले प्रस्तावित नाम समावेशी नभएकोले आफूहरुले बैठक बहिष्कार गरेको र निर्णय प्रक्रियामा सामेल नभएको स्पष्ट पारेका छन् । file photo