सरकारको समर्थन फिर्ता लिएको नाउपाका संरक्षक चौधरीले भेटे प्रधानमन्त्री ओली, आजै देउवा भेट्ने


काठमाडौं, २३ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा चौधरीले आज अपरान्ह १२ बजे बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । नाउपाले हिजो नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुरा सभामुखलाई भेटेर जानकारी गराईसकेको छ। आजको प्रतिनिधिसभा बैठकमा रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी छिन् ।

सुदूरपश्चिम सरकारमा सहभागी नाउपाका मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा कांग्रेस–एमालेको गठबन्धनसँग चिढिएको हो । आज रेशम चौधरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एक्लाएक्लै भेट गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण पनि सुनाएका थिए । चौधरीले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्ने भनिएको छ ।