काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँग एकता गर्ने कुनै नीति र सोच नरहेको प्रष्ट पारेको छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयलाई लिएर एमालेसँगको एकता हुन लागेको भन्ने समाचार आइरहेको भन्दै माओवादीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘कतिपय सञ्चार माध्यममा ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं,’– पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपतिभण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नरहेको माओवादीले बताएको छ । अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे तर एमालेसँग अहिले एकताको चर्चा भने नरहेको माओवादीको धारणा छ । तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ ।




प्रतिक्रिया